बासबारी छालाजुत्ता हिनामिना प्रकरण, उधोगपति अरुण चौधरी पक्राउ

बासबारी छालाजुत्ता हिनामिना प्रकरणमा उद्योगपति अरुण चौधरी पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीलाई आज बिहान काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो ।

चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन । अरुण चौधरी व्यापारिक घराना चौधरी गु्रप (सिजी) का अध्यक्ष रहेका नेपाली काँग्रेसका सांसद विनोद चौधरीका भाइ हुन ।

चौधरीसँगै जग्गा हिनामिना गरेको आरोपमा अजितनारायण सिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तिस पुतलीबाट पक्राउ गरिएको हो । थापा बाँसबारी छालाजुता कारखानाको तत्कालीन अध्यक्ष हुन । मिलेमतो मै यो भैरहेको र उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

एमाले हुँदै काँग्रेसमा पसेर सांसद बनेका विनोद चौधरी अध्यक्ष रहेको सिजी गु्रप अन्तर्गतको ‘सिजी चाँदबाग रेसिडेन्सी प्रालि’ माथि बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ ।

जग्गा हडपेको मुद्दामा चौधरी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरी गु्रप माथि जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गरेर चाँदबाग स्कुल चलाइरहेको आरोप छ ।
चौधरी गु्रपले त्यतिबेला दरबारदेखि प्रधानमन्त्री, मन्त्री, नेता र कर्मचारीसम्मलाई समेत ‘मिलाएर’ कारखानाको जग्गा कब्जा गरेको भन्न आरोप पनि छ ।