लालीगुराँस नगरपालिकाले गर्याे ग्रामीण क्षेत्रसम्म नगरबस सञ्चालन

लालीगुराँस नगरपालिकाले दुई नगरलाई आफ्नै बस सेवामार्फत यातायात सञ्जालमा जोडेको छ । लालीगुराँसले जिल्ला सदरमुकाम समेत रहेको म्याङलुङ नगरपालिकासम्म ग्रामीण रुटको प्रयोग गरी आफ्नै बस सेवा संचालनमा ल्याएको हो ।
कोशी प्रदेशमै पहिलो पटक सार्वजनिक यातायातको रुपमा नगर बस संचालनमा ल्याएको नगरपालिकाले जनाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई यातायात सेवा पुर्‍याउने उद्देश्यले नगर बस संचालनमा ल्याइएको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
नगरपालिकाको ३९ लाख ८२ हजार रुपैयाँ लागतमा नगर बस खरिद गरी संचालनमा ल्याएको नगर प्रमुख माबोहाङले बताए । बसलाई नगर क्षेत्रका सबै वडामा पुग्ने गरी रुट निर्धारण गरेर संचालनमा ल्याउने तयारी गरिरहेको नगरपालिकाले म्याङलुङ नगरपालिकाको म्याङलुङ बजारसम्म सेवा सुचारु गरेको हो ।
बस सञ्चालनका लागि नगरपालिकाले छुट्टै कार्यविधि बनाएको छ । अन्य सार्वजनिक सवारी साधन भन्दा नगर बसको भाडा दर पनि निकै सहुलियतपूणर् रहेको नगरप्रमुख माबोहाङले बताए । लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुर वजार भएर ग्रामीण क्षेत्रको कच्ची सडक हुँदै म्याङलुङ बजारसम्म बस पुग्न थालेपछि सुङनाम, सोल्मा र म्याङलुङका तल्लो क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।
गाउँको बाटो भएर नगरबस संचालन हुन थालेपछि किसानले आफ्नो कृषि उपज बिक्रीका लागि म्याङलुङ बजारसम्म पुर्‍याउन थालेका छन् । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय तुम्बाहाङफेले छिमेकी नगरपालिकाले संचालन गरेको बसले आफ्ना नगरक्षेत्रका बासिन्दालाई समेत फाईदा पुगेको बताए । यो सेवा लामो समयसम्म लिन पाउँ भन्ने म्याङलुङ किसानहरुले अपेक्षा राखेका छन ।