पञ्चपुरी घटना : बलात्कारको जाहेरी दिएका कारण आफ्नै छोराको हत्या

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीमा १८ वर्षीय युवकको हत्यामा उनकै बाबुको संलग्नता देखिएको छ । १८ बर्षीय भरत बुढाको हत्या गर्ने उनका बाबु ४५ बर्षीय नयाराम बुढालाई प्रहरीेले पक्राउ गरेको छ । उनलाई कैलालीको टिकापुर–१ लम्कीपुरबाट पक्राउ परेका गरीएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले उनलाई बिहीवार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार नयारामलाई मोबाइल लोकेसनका आधारमा पक्राउ गरिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याईदै छ । घटना घटेको दिन देखिनै सम्बन्धीत नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो । टिकापुरमा उनी साडुदाईको घरमा बसेका थिए । त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए ।

मङ्गलवार उनले आफ्नै छोरालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारहरूबाट पुष्टि भएको थियो । अनुसन्धानको क्रममा उनको घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला परेका थिए भने उनकी बहिनीले पनि बुबाले नै हत्या गरेको बताएकी थिइन् ।

साथै असोज तेस्रो सातातिर छोरीलाई बलात्कार गरेको भन्दै उनी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आएर मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेका थिए ।

बहिनीले बाबुले बलत्कार गरेको कुरा दाइलाई बताएपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । आफु विरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुलेनै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भारतमा रहेका नयाराम बुढालघटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए । घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी समेत दर्ता गराएका थिए ।