काठमाडौंमा नक्कली मदिरा बेचेको आरोपमा ९ जना पक्राउ

काठमाडौंमा नक्कली मदिरा बेचेको आरोपमा ९ जना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ रहेका छन् ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमध्ये गौरव तामाङ २ पटक र मनोज खत्री तथा विनोदकुकमार कार्की ३/३ पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।
थलीस्थित भरत थापाको घर भाडामा लिई बसेका विनोदकुमार कार्कीको कोठामा खानतलासी गर्दा खुकुरी रम, गोल्डे ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक जस्ता मदिरा बनाउन प्रयोग हुने सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुको साथबाट चिनी-पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजश्व विभागको अन्तशुल्कको स्टिकरहरु लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।