३ जना मृतावस्थामा फेला

विभिन्न फरक फरक जिल्लामा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका–६ आँपघाटस्थित सुनकोशी नदीमा मृत अवस्थामा फेला परेका छन् । पुस १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला परेको हो । यसैगरी लमजुङको सुन्दरबजार नगरपालिका–९ धारापानीस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैतरि कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोडस्थित कलभर्टमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।