हुम्लाको ताँजाकोटमा ‘फोरजी’ सेवा सञ्चालन

बर्षौदेखि टेलिफोन तथा इन्टरनेटको सास्ती झेलीरहेका ताँजाकोट गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको छ ।

मंगलबारदेखि ताँजाकोट गाउँपालिका लगायतका बाजुरा र मुगु आसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीयहरु उत्साहित भएका छन् ।

गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँगको निरन्तरको समन्वय पश्चात फाष्टट्रयाकमा यो काम सम्पन्न गर्न लागेका अध्यक्ष जैशीले बताएका छन् । फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको काम समेत सहज हुने उनले दावी गरेका छन् ।

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजाकोटबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन् । ताँजाकोटका ५ वटै वडा कार्यालयमा फोरजी सहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि रहेको ताँजाकोट गाउँपालिकाले जनाएको छ । ताँजाकोट–१ जिमानाको लेकमा राखिएको फोर जि टावरले छिमेकी अदानचुली गाउँपालिकाका केहि क्षेत्र, छिमेकी जिल्ला मुगु र बाजुरामा समेत काम गर्ने माओवादी केन्द्र ताँजकोटका इन्चार्ज गोपाल बुढाले जानकारी दिए ।

इन्टरनेटको समस्याले नेटबाट हुने कार्यालयका काम, बजेटको भुक्तानी, बैंकको काममा निकै सुस्तता आएर हैरानी खेपिरहेका बेला सञ्चालनमा आएको फोर जि सेवाले ताँजाकोट र आसपासका क्षेत्रका कामहरु छिटोछरितो हुनुका सार्थै गाउँबाटै विभिन्न क्षेत्रका तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनका काम सञ्चालन गर्न सजिलो हुने पालिका अध्यक्ष जैसीले बताए ।

ताजाँकोटसहित अदानचुली, चंखेलीलगायतका क्षेत्रमा शुरु गरिएका फोरजि टावरहरुको काम छिटो छरितो गर्न आफूले ताकेता गरेको भएपनि सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिहरुले चासो नदेखाउँदासम्म नहुने बताउदै अध्यक्ष जैशीले मन्त्रालयको प्रत्यक्ष निर्देशन र पालिकाको निरन्तरको फलोअपले मात्रै यो काम संभव भएको बताए ।

यसअघि ताँजाकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने समस्याबाट छुट्कारा मिलेको छ । ताँजाकोट गाउँपालिका अध्यक्ष जैसी निर्वाचित भए लगतै एक बर्षपछि उनको पहलमा ताँजकोट गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताउनु भएको छ ।