सामाजिक संजालमा आईफोनको बिज्ञापन गरी १० लाख ठगी गर्ने दुई युवक पक्राउ

सामाजिक सञ्जालका विभिन्न माध्यममा महँगो फोनको विज्ञापन राखेर १० लाख ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार यी युवकले सामाजिक सञ्जालका विभिन्न माध्यम फेसबुक, टिकटक तथा इन्स्टाग्राममा ट्रेड लाइन सोनी ए ७३ तथा बेस्ट बाई स्टोर जस्ता नाम राखेर सस्तो आईफोन पाइने भन्दै विज्ञापन गरेका थिए ।

त्यसपछि उक्त विज्ञापन देखेर खरिद गर्न आउनेलाई १० प्रतिशत अग्रिम भुक्तानी गरे बाँकी रकम किस्तामा तिरे पनि हुने आश्वासन देखाएर रकम लिन्थे । यसरी भुक्तानी लिएपछि सामानको डेलिभरी पुगिसकेको छ भनेर सूचना दिन्थे अनि कस्टम, डेलिभरी र इन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भन्दै रकम असुल्थे ।

यसरी विभिन्न व्यक्तिबाट विभिन्न तरिकाले उनीहरूले १० लाख ३९ हजार भन्दा बढि रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । अनलाइन माध्यममा वैदेशिक रोजगारीको विज्ञापन राखेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको पनि अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ललीतपुरमा ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर ग्वार्को बस्ने ३३ वर्षीय अफताब आलम र महोत्तरी घर भई हाल ललितपुर हात्तीवन बस्ने २७ वर्षीय विनय शाह रहेका छन् ।

यी युवकमाथि प्रचलित कानून अनुसार ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।