नौ हजार भूकम्पपिडितका लागि २२ कराेड राहत निकासा

भूकम्पपिडितको अस्थायी आवास निर्माणका लागि छनाैट भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।

हालसम्म जम्मा ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणले जानकारी दिएकाे छ ।

याे भन्दा पहिले दुइ कराेड त्रिपन्न लाख रकम निकासा गरिसकेकाे प्राधिकरणले अन्य प्रमाणित भएका लाभग्राहीका लागि समेत साे रकम निकासा गरेकाे हाे ।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि रु २८ लाख, रुकुम पश्चिमका आठ हजार पाँच सय ८५ लाभग्राहीका लागि रु२१ करोड ४६ लाख २५ हजार र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु ३५ लाख ५० हजार रकम निकासा गरिएको हो ।
सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी छ । कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि दुरुस्त गतिमा वितरण हुने प्राधिकरणले जनाएकाे छ ।