कर्णाली प्रदेशका प्रहरीले ड्युटिको समयमा मोबाईल चलाउन नपाउने

सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटि गरिरहेको बेला मोबाईल चलाउन नपाउने भएका छन् ।आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागु हुने छैन् ।

ड्युटिमा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोन मार्फत सहजिकरण गरिने छ । सुरक्षा जस्तो संवेदनशिल कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रीत गरून, ड्युटिको समयमा आफ्नो जिम्मेवारी क्षेत्र भित्र प्रभावकारी निगरानी हुन सकोस र आम नागरिकलाई प्रभावकारी रूपमा सुरक्षा अनुभूति दिलाउन सकियोस भन्ने उद्देश्यले यो व्यवस्था सुरू गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम ढकालले बताउनु भयो ।

यसरी मोबाईल नचालाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने सामाजिक सञ्जालको दुरूपयोग गर्नु बाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयमको पनि मोबाईल खर्च बचत हुने देखिएको छ । यस कार्यले प्रहरी प्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा भएकाे पनि उनले जानकारी दिएका छन् ।

यसरी ड्युटिको समयमा मोबाईल नचलाउन/नबोक्नको लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, ईलाका, चौकिसम्म परिपत्र गरेको छ र प्रभावकारी रूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ ।