
जाजरकोटमा चिसोका कारण थप तीन जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरहरु ध्वस्त भएपछि त्रिपालमा रातदिन गुज्रदै आएका बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन , छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपालीको चिसोका कारण मृत्यु भएको हो ।

पुन दमका दीर्घरोगी भएका कारण पनि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।
त्रिपालमुनिको चिसोका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वास प्रश्वाससम्बन्धी समस्याहरु बढ्दै गएको छ । यसअघि पनि नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण एक साताभित्रै सात जना वृद्धवृद्धाले ज्यान गुमाईसकेका छन् ।
