चिसोका कारण जाजरकोटमा दुई भूकम्प प्रभावितको मृत्यु

अत्याधिक चिसोका कारण जाजरकोटमा दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका-४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पका कारण घरबास गुमाएका उनीहरु त्रिपालमुनी बस्दै आएका थिए ।

उनिहरु दमका दीर्घरोगी भएको र अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन् ।

जाजरकोटमा भूकम्पपछि ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र जेष्ठनागरिक थप प्रभावित भइरहेंका छन् ।

बारेकोटको माथिल्लो भागमा हिउँदमा हिउँ पर्ने भएकाले चिसो अत्याधिक बढ्दै गएको छ । गत साता नलगाड नगरपालिका-४ मा पनि चिसोका कारण दुई जना दीर्घरोगीको मृत्यु भएको थियो ।