भूकम्पमापरी मृत्यू हुनेको संख्या १२१ पुग्यो

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ ।

सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ भएको छ। भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्दार गर्न समस्या भएको उनले बताए ।

प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए। नगर क्षेत्रमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ ।

यस्तै, जाजरकोटकै नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५० जना भन्दा बढीले भूकम्पमा परेर ज्यान गुमाएका छन् ।

नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएको जानकारी आएको छ । वडा नम्बर १ मा सबैभन्दा बढी मानविय क्षति भएको छ। सो वडामा ३० देखि ३५ जना घाइते भएका छन् ।

ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफनले काम नगरेकाले उद्धारमा कठिनाई भएको तथा घटनाको यकिन विवरण संकलनमा समस्या भएको उनले बताए ।

यस्तै, रुकुमपश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन् । पछिल्लो अपडेटअनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

रुकुमपश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
नेपालखबरमा समाचार छ ।