शनिबार अफगानिस्तानमा गएको भूकम्पबाट एक हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा शनिबार गएको भुकम्पमा परी एक हजार भन्दा बढिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भुकम्प पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्नीच्यूडको गएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूणर् वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । शनिबार गएकोे भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो ।

भुकम्प गएपछि स्थानीयहरु रातभर खुला आकाशमा बसीरहेका छन् । उनिहरुले आफुलाई ओढ्ने कम्बल वा खानेकुरा केही पनि नभएको बताएका छन् । डब्लूएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकोले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।

करिब १९ लाख जनसङ्ख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकहरूलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ ।