
संखुवासभा ः जिल्लाको पाँचखपनमा प्रहरीमाथि हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरीमाथि हातपात र दुर्व्वहार गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीहरुको हातपातबाट इलाका प्रहरी कार्यालय बानाका प्रहरी हवल्दार सन्तोश राई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । घाइते हवल्दार राईको प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचार हुन नसकेपछि थप उपचारका लागि संखुवासभा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार पाँचखपन नगरपालिका-७ बिहीबार बजारमा मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटिएको थियो । पक्राउ परेको तीनै जनालाई बिहीबार नै ७ दिन म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
