अछामको एक विद्यालयले आन्दोलनमा हिडेका शिक्षकको विद्यालयको आन्तरिक कोषबाट यातायात खर्च दिने


अछामः अछामको एक विद्यालयले आन्दोलनमा हिडेका शिक्षकको विद्यालयको आन्तरिक कोषबाट यातायात खर्च दिने भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको हो ।

विद्यालय शिक्षा विधेयक विरुद्धको आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौँ जाने-आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेले बताए । दुई जनाको आठ-दश हजार खर्च विद्यालयको आन्तरिक कोषबाट दिने उनले बताए ।

शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ । सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउन विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमिका हुनुपर्ने अध्यक्ष न्यौपानेले बताएका छन् । शिक्षकहरूको प्रतिनिधिको रूपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ ।