
काठमाण्डौ – चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) को बिजुली निर्यात भएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौता बमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि- एनभीभी एनलाई बिक्री गरिरहेको छ ।भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभी एनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र २ देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताउनुभयो । ‘देशभित्र उत्पादित बिजुली यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, बिजुली नपुगेका ठाउँमा बिजुली पुर्याउनका लागि विद्युतीकरणको काम पनि चलिरहेको छ’, घिसिङले भन्नुभयो, ‘खपत गरी बचत भएको बिजुली निर्यात गर्न २ देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूणर्रूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।’
