रूपन्देहीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, ३ जना घाईते


रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । तिलोत्तमा नगरपालिका-९ केउलानीमा गएराति दुई समूहबीच झडप हुँदा हेटौँडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको थियो । झडपका क्रममा घाइते भएका तीन जनामध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेमा काठमाडौँ महानगरपालिका-१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।