काठमाडौँकाे तीनकुने गैह्रीगाउँमा चारजनाको हत्या आशङ्कामा एक व्यक्ति पक्राउ


तीनकुने गैह्रीगाउँमा चारजनाको हत्या आशङ्कामा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले २८ वर्षे दीपेन्द्र राईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार, रक्सीले मातेका राई कपडामा रगत लतपतिएको अवस्थामा फेला परेका थिए । प्रहरीले अहिले उनीमाथि सोधपुछ गरिरहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार, गएराति धारिलो हतियार प्रहार भएको अवस्थामा तीनकुनेको गैह्रीगाउँमा चार जनाको शव फेला परेको थियो । हत्या हुनेमा दोलखाका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी शुभद्र बाइवा, कुमारकी आमा अन्दाजी ७० वर्षीया सुमित्रा भुजेल छन् र मोरङका १९ वर्षीय नवीन राई रहेको मैनालीले बताए ।

यीमध्ये तीन जना एकै परिवारका हुन् । उनीहरू तीनकुनेकै दिव्य सःमिलमा काम गर्थे । घटना मिलभित्रै भएको हो । घटना के कारणले भयो भन्नेबारे खुलिसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।