
हेटौंडा ः हेटौँडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा-१२ निवासी रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । गत साउन २२ गते हेटौंडा-१२ निवासी ४२ वर्षका राजेश प्रधान सन्चो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनलाई डेंगू रोगको संक्रमण रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रधानको स्वास्थ्य अवस्था गम्भीर भएकाले सन्चो अस्पतालले थप उपचारको लागि चितवनको भरतपुरस्थित अस्पताल रिफर गरेको थियो । मृतक राजेशका परिवारले सन्चो अस्पतालले रिफर गर्न ढिलाइ गरेका कारण आफ्नो परिवारको सदस्य गुमाउनु परेको भन्दै चिकित्सकमाथि हातपात गरेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् । पक्राउ परेकी रमा मृतक राजेशको श्रीमती हुन् भने रमिला मृतकको छोरी, रोहन छोरा र अनुप भतिज हुन् । यता, अस्पताल प्रशासनले बिरामीको उपचारका कुनै लापरवाही नगरिएको र सकेसम्म चाँडै बिरामीको थप उपचारको लागि भरतपुर रिफर गरिएको जनाएको छ ।
बुधबार बिहान करिब १० जनाको समूहले चिकित्सक थापा र बिडारीमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका चिकित्सकहरुको अहिले उपचार भइरहेको छ । घटनापश्चात् चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि प्रहरीले बिहीबार घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो । चिकित्सकहरूले घटनाका दोषीविरुद्ध संयुक्त उजुरी दिने भएका छन् । चिकित्सकले घटनामा संलग्नलाई तत्काल पक्राउ नगरे स्वास्थ्यसँग सम्बन्धित सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
