
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष, सांसद एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको दाहसंस्कार पशुपति आर्यघाटमा हुने भएको छ । उनको पार्थिव शरीर गृहथलो इलाम लैजाने चर्चा चलिरहँदा पारिवारिक स्रोतले पशुपति आर्यघाटमै दाहसंस्कार गरिने जनाएको हो । हृदयाघातका कारण गएराति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी मुख्यालय च्यासलमा राखिने एमाले सचेतक महेशकुमार बर्तौलाले जनाएका छन् । बिहान ७ बजे नै उनको लास लैजाने भने पनि मन्त्रिपरिषदको बैठकले गर्ने निणर्य पछि मात्रै बाहिर निकालिने नेकपा एमालेले जनाएकाे छ ।

नेम्वाङलाई राष्ट्रिय सम्मानसहित शिक्षण अस्पताल महाराजगञ्जबाट निकाल्नका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको हो । शिक्षण अस्पताल पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठक बसेर निणर्य गर्ने भन्दै बैठकका लागि बाहिरिएका छन् ।राष्ट्रिय सम्मानसहित निकालिने भयो भने उक्त पार्थिव शरीरको जिम्मा सरकारले लिनेछ । नेम्वाङको गएराति हृदयाघातबाट निधन भएको हो । हिजो उनलाई सामान्य ज्वरोसमेत आएको थियो ।
उनका दुई छोराहरु विदेशमा रहेकाले स्वदेश आएपछि बुधबार दाहसंस्कार गरिने जनाइएको भए पनि समयबारे भने अझै यकिन हुन सकेको छैन । शान्त र सुशील स्वभावका कम्युनिष्ट नेता नेम्वाङका एक छोरा अष्ट्रेलियामा र अर्का छोरा बेलायतमा छन् । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।
