कांग्रेस रूपान्तरण अभियानको आचारसंहिता – होटलमा बस्न र मदिरा सेवन गर्न मनाहि

नेपाली कांग्रेस रूपान्तरण अभियानले आचारसंहिता घोषणा गरेको छ । रूपान्तरण अभियानले दोस्रो चरणमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नुअघि आचारसंहिता बनाएका हुन् । यसअघि गत जेठमा रूपान्तरण अभियानले सातै प्रदेशमा भेला गरेका थिए । रूपान्तरण अभियानमा लागेका कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र केन्द्रित अभियान काभ्रेको धुलिखेलबाट सुरू भएको थियो ।

मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गर्दै रूपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित अभियान सुरू गरेको हो । नीतिगत र सांगठानिक विषयमा उनीहरूले नेता तथा कार्यकर्ताहरूसँग कुराकानी गर्नेछन् । बिपीको जन्मजयन्तीका अवसर पारेर आइतबार ८ बुँदे आचारसंहितासमेत घोषणा गरिएको उनले बताए । अभियानका क्रममा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा होटलमा बस्न नपाइने र पार्टीका नेता, कार्यकर्ताकै घरमा बस्नुपर्ने नियम बनाइएको हो ।

‘तडकभडक र खर्चिलो यात्रा नगर्न भनेका छौं। माला र खादाको प्रयोगसमेत गरिने छैन,’ आचार्यले भने, ‘मदिरा सेवन पनि गर्न पाइँदैन ।’ तोकिएको समयमै कार्यक्रम सुरू गर्ने, विषयकेन्द्रित भएर भाषण गर्नुपर्ने र छोटकरीमा कुरा राख्नुपर्ने आचारसंहिता बनाइएको उनले जानकारी दिए । रूपान्तरण अभियानमा केन्द्रीय सदस्यहरू आचार्य, गोविन्दराज पोखरेल, पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरे, नेता भरतबहादुर खड्का, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजङ्ग शाही, रञ्जित कणर्, रिता शाहीलगायत छन् ।

कांग्रेस नेतृत्व विधि र विधानअनुसार सञ्चालन नभएको भन्दै उनीहरूले रूपान्तरण गर्न दबाब दिँदै राष्ट्रव्यापी कार्यक्रम गर्न लागेका हुन् । नेता तथा कार्यकर्ताका सुझावलाई लिपीबद्ध गरेर महासमिति बैठकमा प्रस्तुत गर्ने तयारी उनीहरूको छ ।