रुकुममा १३ वर्षीया छात्रा मृत अवस्थामा फेला परेपछि विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ


१३ वर्षिया छात्राको आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन् । जिल्लाको चौजहारी नगरपालिका- १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको र घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितमा कुटपिट गरेकी थिइन् । प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कक्षा कोठा र त्यसपूर्व विद्यालय प्राङ्गणमा पनि कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ । प्रहरीले सुरूमा उजुरी दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ । उनीहरूले राजनीतिक दबाबका कारण सुरूमा प्रहरीले उजुरी दर्ता गर्न उदासिनता देखाएको उनीहरूले बताए । कसैको दबाबमा काम गर्दैन,’ एक प्रहरी अधिकारीले भने ‘अनुसन्धानपछि दोषी देखिने जो कोही सजायको भागिदार बन्छ ।’