सादा पोषाकमा ड्युटीमा खटिएका प्रहरीको हतियार खोस्ने ६ जना पक्राउ

सुनसरीको बर्जुमा सादा पोषाकमा ड्युटीमा खटिएका प्रहरीको हतियार लुट्ने ६ जना पक्राउ परेका छन् । शुक्रवार राती ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरेको हो । उनिहरुले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेर लगेका थिए ।

प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यस्तै प्रहरीले उनीहरूको साथबाट लुटेको मोवाईल, रकम पनि बरामद गरेको छ । प्रहरीले बोकेको पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ ।

सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान विमल परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । सुनसरी र मोरङमा श्रृंखलावद्ध लुटपाट र प्रहरीको हतियार लुटेर समूह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।