सल्यानको बागचाैरमा बस दुर्घटना, ९ जना घाइते, चालक फरार

विरेन्द्र बुढा सल्यान

बागचौर नगरपालिका–७ चौफारीस्थित भित्री कच्ची सडकखण्डमा आइतबार बिहान साढे १० बजे बस दुर्घटना भएकाे छ । बागचौर नगरपालिका–१२ बाफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख २५४१ नम्बरको बस दुर्घटना भएको हो । बसमा सवार २७ जना यात्रु मध्ये ९ जना घाइते भएका छन् । घाइते मध्ये दुई जना सख्त घाइते रहेको र सात जनाको अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

घाइते हुनेमा बाग्चौर नगरपालिका–६ चिसापानी बस्ने २५ वर्षीया रन्जना शाह, चौलाबोट बस्ने ६० वर्षीय गमबहादुर ओली, २९ वर्षीया गीता बुढाथोकी, रातामाटा बस्ने ६३ वर्षीय विक्रम ओली, मालजुडा बस्ने २७ वर्षीया लीला खत्री ओली, कोबारा बस्ने ६५ वर्षीया तीलसरा विक लगायत रहेको प्रहरीले जनाएको छ । जस मध्ये रन्जना शाह र गमबहादुर ओली गम्भिर घाइते भएका हुन । अन्यको नाम खुल्न बाँकी छ । प्रहरीका अनुसार घाइते सबैलाई उद्धार गरिएको र उपचारका लागी बागचौर नगरपालिका स्थित जनप्रीय पोलिक्लिनिकमा पुर्याइएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको छ । यात्रुबाहक बस अनियन्त्रित भएर सडकमै दुर्घटना भएको र बस चालक तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीय नरेन्द्र विक फरार रहेको प्रहरी ले जनाएकाे छ ।