श्रीमती चढेको गाडी ट्राफिकले रोकेपछि, बालेनले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि बालेनले फेसबुकमा सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका हुन् ।

महानगरले चलाउने गरेको उक्त गाडीमा मेयर शाहकी पत्नी चढेको कोटेश्वरमा खटिएका ट्राफिक प्रहरीले बताएका छन् ।

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाको आधा घन्टापछि बालेन शाहको सिंहदरबार जलाइदिने स्टाटस सामाजिक सञ्जालमा आएको हो ।

बिदाको दिन सरकारी गाडी तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा ३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताएका छन् ।

आफ्नी श्रीमती चढेको गाडी रोकिएपछि बालेनले काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतलाई पनि यसबारे सोधेका थिए ।

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनैपनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’