सोलुखुम्बुको दूधकुण्ड मेलामा जाँदा बिरामी भएका भक्तजनहरूको उद्धार

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका १ मा रहेको ठूलो दूधकुण्डको मेलामा जाँदा लेक लागेर केहि यात्रीहरु बिरामी परेका छन् ।

उक्त बिरामी भक्तजनहरुलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र नेपाली सेनाको दुर्गाबक्स गण, सुरक्षा गुल्म सल्लेरीबाट खटिएको टोलीले उद्धार गरेको हो ।

समुद्री सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा रहेको दूधकुण्ड मेला श्रावण शुक्ल एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
उक्त दूधकुण्ड मेलामा धामीझाँक्री र विभिन्न स्थानबाट हजारौं दर्शनार्थीहरू पुग्ने गरेका छन् ।

जिल्ला सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो ।

जनैपूर्णिमा मेलामा हिन्दु मात्रै नभई बौद्धमार्गी, किराँतीहरु समेत दूधकुण्ड पुग्ने गरेका छन् ।