पर्वतको मोदी गाउँपालिकामा चितुवा मृत फेला

पर्वतको राम्जादेउरालीमा आज एक चितुवा मृत भेटिएको छ ।

पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउराली स्थित गौतम कूल मन्दिर नजिकैको धानखेतमा चितुवा मृत फेला परेको हो ।

त्यहाँका स्थानीयवासीले चितुवालाई मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए ।

स्थानीयवासीले खबर गरे लगत्तै वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले उक्त मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएपछि वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने उक्त चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।

पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ वटा चितुवा मृत फेला परेका थिए भने दुईवटाको जीवितै उद्धार गरिएको थियो ।