तीर्थयात्री बोकेको बस दुर्घटना, ७ को मृत्यु, १९ घाइते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

उक्त घाईतेहरुको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।