पत्रकार एलिजाले गरिन् आत्मदाह, पेटमा हुर्किदै थियो शिशु


पोखरा, भदौ ६ । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनले यसअघि माछापुच्छे्र एफएम, परिचय डटकम, अन्नपूणर् एफएमलगायत मिडियामा काम गरेकी थिइन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् । उनको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ । मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।