त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

धादिङ, भदौ ६ । काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । काडमाडौंबाट बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे पृथ्वि राजमार्गको गजुरी नजिकै त्रिशुलि नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ ।

प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने १७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख एसपीले जानकारी दिएका छन् ।उनका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।
घाईतेहरुलाई अहिले उपचारका लागि गजुरी अस्पतालमा लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ । उनले दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लागने बताए ।

‘बस नदीमा डुबेको छ । कतिपयलाई बाढीले बगाएको पनि हुनसक्छ । कतिपय घाइते आफैँ हिँडेर अस्पताल पनि जानु भएको छ । हामी यो सबै विवरण लिँदै छौँ,’ उनले भने । दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।