केपी शर्मा ओली नआएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित


काडमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक आज स्थगित भएको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो । ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको थियो । सो मस्यौदालाई सर्वदलीय बैठक बसेर अन्तिम रूप दिने बताए पनि ओली उपस्थित नहुँदा मस्यौदाले अन्तिम रुप पाउन सकेन । आज स्थगित भएको बैठक भोलि बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।