कागबेनीमा आएको बाढीमा भेटियो दानपेटिका


जोमसोम ः कागबेनीमा आएको बाढीमा हराएको दानपेटिका भेटिएको छ । गत साउन २८ गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी स्थित कागखोला बाढीका कारण हराएका सामग्रीहरू खोज्ने क्रममा दानपेटिका पनि फेला परेको हो ।
कागबेनी धर्मशालाको गण्डकी माताको मन्दिर, धर्मशाला, हवनमण्डप, सभागृह, स्नानगृह, ध्यानकुटी र अतिथि स्वागतगृह रहेको स्थानको बाढी पन्छ्याउने क्रममा धर्मशालाको दुईवटा दान पेटिका भेटिएको प्रहरी निरीक्षक मिलन बहादुर विकले जानकारी दिए ।
उनका अनुसार बाढीका कारण धर्मशालाको भौतिक संरचनासँगै एक थान काठको र अर्को फलामको दानपेटिका फेला परेको हो । धर्मशालाको दानपेटिकामा ५३ हजार ९१८ रुपैयाँ फेला परेको प्रहरी निरीक्षक विकले बताए ।
धर्मशालाको दानपेटिका बाकसमा रहेको रकम प्रहरी, जनप्रतिनिधि, धर्मशालाका प्रतिनिधि र स्थानीयवासीको रोहबरमा गणनासहित मुचुल्का गरी धर्मशालाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । ८ दिनदेखि उक्त क्षेत्रमा हराएका जिन्सी सामग्रीको खोजीको काम भइरहेको प्रहरी निरीक्षक विकले जनाए ।