९० वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय जान उमेरले छेकेन

तुल्सीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर-१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर-व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग व्यस्त हुन्छन् ।

उनले पनातिसमेत देखिसकेका छन्, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उनी कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन् । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनी पढ्न थालेका छन् । उनी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन् । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन”, उनले भने, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”

उनकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उनी एकलरूपमा घरमा बस्दै आएका थिए । उनको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आएका छन् । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाइ छ । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उनले भने, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”

वृद उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए । “उनी सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उनले भने, “अहिले उनी आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”