
हिमालपारीको गाउँ हुम्लाको लिमीका स्थानीय नेपाल टेलिकमको ‘फोर जी’ सेवा सञ्चालनमा आएपछि इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन् ।

नाम्खा गाउँपालिका— ६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएपछि लिमीका बासिन्दाहरुलाई सञ्चार सम्पर्क गर्न सहज भएको छ ।
इन्टरनेट चलाउने सेवाग्राही कमै भएको कारण ‘फोर जी’ सेवा छिटो र गुणस्तरीय रहेकाले गाउँ बाहिर तथा देश विदेश रहेका आफन्तसँग सञ्चार सम्पर्क गर्न सहज भएको छ । चार हजार छ सय मिटर अग्लो स्थानमा ‘फोर जी’ सेवाको टावर स्थापना गरिएकोले लिमीका तीनवटै गाउँ तील, हल्जी र जाँङ इन्टरनेटको पहुँचमा जोडिएका छन् ।

लिमीको हल्जी गाउँमा यसअघि वल्र्ड लिंकको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा निक्कै सुस्त भएको कारण सेवाग्राहीले भनेको बेला इन्टरनेट चलाउन नसक्ने अवस्था थियो भने अहिले चौबीसै घण्टा लिमीका बासिन्दा इन्टरनेटको पहुँचमा जोडिन पाउँदा निक्कै हर्षित छन् ।