
सुदूरपश्चिम प्रदेश सरकारले ओल्के पर्वको अवसरमा भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

साउने झरी सकिए लगत्तै भदौ १ गतेका दिन दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ ।
आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको छ ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ ।
गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोप र दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोग जस्ता रोगबाट बाँचिएको खुशीयालीमा पनि यो पर्व मनाउने चलन छ ।