कक्षा १२ को नतिजा ः अंग्रेजी विषयमा किन देखियो कमजोर ?


काठमाडौँ । कक्षा १२ मा अङ्ग्रेजी विषयमा सबैभन्दा कमजोर नतिजा देखियो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा बढी अङ्ग्रेजी विषयमा फेल भएको देखियो । नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूमध्ये सबैभन्दा बढी अङ्ग्रेजी विषयमा रहेका छन् । अंग्रेजीमा मात्रै १ लाख ९ हजार ५२७ विद्यार्थीको एनजी आएको छ । यो एनजी आउने विद्यार्थीको ५९.८७ प्रतिशत र जम्मा परीक्षार्थीको २४.४० प्रतिशत हुन आउँछ ।

यो वर्षको परीक्षामा नियमित, आंशिक, ग्रेडबृद्धि र आंशिक गरेर ४ लाख ४८ हजार ८३७ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । तीमध्ये १ लाख ८२ हजार ९२६ विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात फेल भए । यो सङ्ख्या जम्मा विद्यार्थीको ४९.०९ प्रतिशत हुन्छ । जुन २०७९ को तुलनामा २.८१ प्रतिशत कम हो । अघिल्लो वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीको एनजी आएको थियो । असोज ६ र ७ गते हुने ग्रेड वृद्धि परीक्षामा १ लाख २३ हजार ३९६ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । एक विषयमा मात्र ७९ हजार ५८४ विद्यार्थीको एनजी आएको छ भने ४३ हजार ८१२ विद्यार्थीको २ विषयमा एनजी आएको छ ।

यी दुवै विषयका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ५९ हजार ५३० जनाले तीन वा सो भन्दा बढी विषयमा एनजी ल्याएका छन् । उनीहरूले ग्रेड वृद्धिको परीक्षा दिन पाउने छैनन् । उनीहरूले अर्को वर्षको वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । अघिल्लो वर्ष पनि अङ्ग्रेजी विषयमा नै बढी विद्यार्थीको एनजी आएको र यो वर्ष पनि त्यसमा सुधार हुन नसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा . महाश्रम शर्माको भनाई छ ।