पहिरोले मन्दिर बगाउँदा पाँच जनाको मृत्यु


अविरल वर्षाका कारण भारतको हिमाचलको राजधानी सिमलामा रहेको शिवबावडी मन्दिरमा पहिरो जाँदा २ बालबालिकासहित ५ जनाको शव भेटिएका छन् भने २५ जनाभन्दा बढी भग्नावशेषमा पुरिएका र उनिहरुको खोजी कार्य भइरहेको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

यो मन्दिर सिमलाको उपनगर बालुगञ्ज क्षेत्रमा छ । साउन सोमबारका कारण मन्दिरमा बिहानैदेखि भीड लागेको थियो । धेरै परिवार दर्शन गर्न गएका थिए ।

भारी वर्षाका कारण उद्धार कार्यमा समस्या भएको छ । पहाडबाट अझै ढुंगा खसिरहेका छन् । भग्नावशेषसँगै मन्दिरको माथि चारदेखि पाँच वटा रूख पनि ढलेका छन् । यहाँ अझै धेरै क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका छन् । जेसीबी मेसिनको सहायतले उद्धार कार्य जारी राखिएको जनाइएको छ ।