
बर्दिया । बर्दियामा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा भारी वर्षा भएको जानकारी दिएको हो ।

विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने सानो श्रीचेपाङमा १७४.२ मिलिमिटर वर्षा भएको छ । यी दुई ठाउँको वर्षा पनि अति भारी वर्षा नजिक छ ।
२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दियाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

अति भारी वर्षा भएकाले बर्दिया बाढीको उच्च जोखिममा परेको छ । यहाँका सडक र सम्म परेका ठाउँहरू जलमग्न भइसकेका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिका-८ का सबै गाउँहरू डुबानमा परेका छन् ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।
बर्दियामा कर्णाली, बबईलगायत स्थानीय साना खोलाहरू पनि रहेका छन् । तीन नदी र खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सरोकारवालाले सूचना जारी गरेका छन् ।
देशका अन्य धेरै ठाउँमा पनि उच्च वर्षा मापन भएको छ ।