हेटौँडा-काठमाडौँ छोटोदुरीका सडक पहिरोका कारण अवरुद्ध


हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका-११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए ।

हेटौँडा-काठमाडौँ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।