दैलेखको भैरवीमा बँदेल र बादरबाट मकै जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा बँदेल र बाँदरबाट मकै बाली जोगाउन मुस्किल भएको छ । मकैको बोटमा घोगा लाग्ने बेला बाँदरले नष्ट गर्न थालेपछि त्यहाका किसान नागरिकहरू रातदिन बारीमै मकै कुरेर बस्न बाध्य भएका छन् ।

जङ्गल क्षेत्रको विस्तारसँगै नजिक आउने जङ्गली जनावरले वर्षमा छ महिना खान पुग्ने मकैखेती सखाप पारेपछि अन्न खोज्नुपर्ने चिन्तामा छन् किसानहरू । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी भन्छन्, ‘जङ्गली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा छौँ’।

भैरवी गाउँपालिकामा मात्र नभई दैलेखका ११ वटा स्थानीय तहमा बँदेल र बादरको आतंक छ । हाल दैलेखका ९० वटा वडाको २१ हजार बढि हेक्टर जमिनमा मैकै खेती गरिदैँ आईएकोमा अहिले एक वडामा पाँचदेखि सात रोपनी जग्गाको मकै खेती बँदेल र बादरलेनै नष्ट गरिदिने गरेको भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले जानकारी दिए । साथै, पालिकाले जङ्गली जनावरले मकैमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने काम पनि अघाडि बढाएको जानकारी दिएका छन् ।

यद्यपी गाउँपालिकाले राहत दिने कुनै नीति बनाएको छैन् । जङ्गली जनावरबाट खेतीबाली बँचाउन स्थानीय र तीनै तहका सरकार लाग्नुपर्ने पनि शाखा प्रमुख भट्टराईले बताएका छन् ।