आइएस समूहको आक्रमणमा ३३ जना सिरियाली सैनिक मारिए


इस्लामिक स्टेट (आइएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादिन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ । युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा बिहीबार साँझ भएको आक्रमणमा उनीहरू मारिएका हुन् ।

आइएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्युतीय धराप थाप्ने तथा प्रहार गरेर भाग्ने (हिट एन्ड रन) आक्रमण गर्दै आएको छ । यो हमला यो वर्ष भएका आक्रमणमध्ये सबैभन्दा घातक हो । आइएस लडाकुले सर्वसाधारणका साथै सरकारी सेनालाई निशाना बनाउँदै आएका छन् ।

यसअघि, आइएस लडाकुले आफ्नो पूर्वगढ राका प्रान्तमा दशजना सिरियाली सैनिकको हत्या गरेका थिए । सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन् भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका सहर आइएस समूहको क्रूरता केन्द्र बनेको थियो.।