मकवानपुरमा पहिरोमा खसेको ढुङ्गा लागेर एक २२ बर्षिय प्रहरी जवानकोे मृत्यु

मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल लिईएको र उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

“बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते हुनुभएको थियो”, उहाँले भन्नुभयो, “हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुङ्गा लागेर नेपाली पुनः घाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्‍याएको थियो ।” नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते हुनुभएकामा उहाँको भने अवस्था सामान्य रहेको कार्कीले बताउनुभयो । मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका-८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उहाँको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।