व्यापारी राकेश अडुकियाका छोरा रोहन, सुन प्रकरणमा पक्राउ


व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए । पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा जिम्मा लगाएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।