कैलालीमा गर्भपतनको औषधि सेवन बाट एक महिलाको मृत्यु

कैलालीको एक क्लिनिकमा गर्भपतन गराउन आएकी एक महिलाको अनावश्यक औषधी सेवनबाट मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिकामा स्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी-१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उनका आफन्तजनले अनावश्यक औषधीका कारण उनको मृत्यु हुन पुगेको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बिहान गर्भपतन गर्न गएकी ती महिलालाई क्लिनिकका स्वास्थ्यकर्मीले सेवनका लागि औषधि दिएको थियो । औषधि सेवन गरे पछि अचानक उच्च रक्तस्राव भए पछि तुरुन्तै ती महिलालाई सेती अस्पताल लगिएको थियो । प्रहरीका अनुसार केही समय पछि उनको उपचारकै क्रममा मृत्यु हुन पुगेको हो ।

उक्त महिलाको मृत्यु भए पछि क्लिनिक सञ्चालक विनोद जोशी र उनकी पत्नी आशिका ओझा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।