नेकपा बहुमतको नाममा लाखौँ चन्दा माग्दै हिड्ने दुईजना पक्राउ


नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्दै हिड्ने दुईजनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका- ५ फालाबाङका धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका- १ दमाचौरका चन्द्रप्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्यसमेत हुन् । तर, उनीहरूले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी विभिन्न व्यक्तिसँग चन्दा मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । परियारबाट पत्रकार परिचयपत्रसमेत बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसीसँग १० लाख, सल्यानको कालिका माविका शिक्षक वामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर- ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर- १८ बेलझुन्डीका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबर्जस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको हा्े ।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्नेजस्ता धम्की दिएर चिठी र मोबाइलमा सन्देश पठाउने गरेको बताइएको छ । उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, नेकपा बहुमत लेखिएका ५३ वटा लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङसहितको सहयोगमा उक्त घटनाबाहिर आएको हो ।