
कैलाली । सोमबारदेखि परेको अविरल बर्षापछि आएको बाढीबाट कैलालीको भजनी नगरपालिकाका आठ सय ९९ परिवार विस्थापित भएका छन् । वर्षाले कान्द्रा, काँढा, पथरैया र मोहना नदीमा आएको बाढीले दुई हजार तीन सय ६७ परिवार प्रभावित हुँदा आठ सय ९९ परिवार विस्थापित भएर हुलाकी राजमार्ग, विद्यालय र सेफ हाउसमा बसिरहेका छन् ।

भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले दुई हजार चार सय स्थानीय विस्थापित भएको बताए । बाढीका कारण वडा नम्बर ५ का १५ घर पूणर् रूपमा क्षतिग्रस्त भएको बताउदै सबैभन्दा धेरै वडा नम्बर ३ का गाउँहरू कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर त्यस्तै ८ नम्बर वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरूमा पानी भरिएको बताए ।