बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा


म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीको अधेरीखोलामा निरन्तर खसेको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध भएको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक चार दिनपछि आज दिउँसोेदेखि सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले वर्षा रोकिएपछि पहिरो पन्छाएर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको जानकारी दिए । आयोजनाको निर्माण कम्पनीका डोजर, कर्मचारी, मजदुर, नेपाली सेना र प्रहरीको टोली पहिरो पन्छाउने काममा परिचालन भएका थिए ।

गत वर्षदेखि सुरु भएको पहिरो विस्तार हुनेक्रम जारी छ । भूमिगत पानीका कारण सडक माथिको पाखो बगरे पहिरो खसेको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी-जोमसोम सडकको राहुघाटदेखि भुरुङ्ग तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न सूचनामार्फत अनुरोध गरेको छ ।