आफूखुशी स्वयम् सेवकहरु नखटाउन रास्वपालाई निर्देशन


चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले उद्धार राहतका काममा आफूखुशी स्वयम सेवक नखटाउन निर्देशन दिएको छ । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपमा स्वयम् सेवक खटाउँदा सुरक्षाकर्मीसँग समन्वयन गर्न र प्रशासनबाट अनुमति लिन निर्देशन दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मुग्लिन नारायणगढ सडक खण्डमा जाम खुलाउन सूचना सेटसहित अनुमतिविनै स्वयम सेवक खटाएपछि प्रशासनले त्यस्तो काम नगर्न जानकारी दिईएको हो । रास्वपाका कार्यकर्ताले आरएची लेखेको ज्याकेट लगाएर ट्राफिक व्यवस्थापनमा लागेको उल्लेख गर्दै त्यसो नगर्न प्रशासनको आग्रह छ ।

चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ठूला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ।’