डेङ्गु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द

धरानमा डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निणर्य गरिएको हो ।

विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निणर्य गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सं-संस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ-आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ ।

वडा समिति कार्यालय आ-आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण नहुने देखिएकाले व्यापक जनपरिचालन गर्ने निणर्य गरिएको धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए ।

धरानमा डेङ्गुबाट गत जेठ तेस्रो साता यता एक बालिकासहित आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शैया पाउन मुस्किल भएको छ । यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।