गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । समयमा अस्पताल नजाँदा हुन सक्ने जोखिम कम गर्न तथा मातृ मृत्युदर हुन नदिन भन्दै निःशुल्क एम्बुलेन्स सेवा थालेको हो ।

नगरप्रमुख सजरुद्धिन मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्रका गर्भवतीलाई जुनसुकै अस्पताल जाँदा पनि एम्बुलेन्स शुल्क नलाग्ने र २४ सै घण्टा एम्बुलेन्स सेवा दिनेगरी नगरले तयारी गरेका बताए ।

लुम्बिनीमा प्रसूति अस्पताल नभएको कारण यहाँका गर्भवती सुत्केरी हुन भैरहवा र बुटवल आउने गरेका छन् । एम्बुलेन्सको असुविधाले गर्भवतीहरु समयमा अस्पताल पुग्न नसकेकाले निःशुल्क एम्बुलेन्स सेवा थालेको उपप्रमुख कल्पना हरिजनले बताइन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ वटा एम्बुलेन्स रहेका र पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले नगरपालिकालाई ३ वटा एम्बुलेन्स प्रदान गरेको छ । मंगलबार ती एम्बुलेन्स लुम्बिनी स्वास्थ्य केन्द्र, खुदावगर स्वास्थ्य चौकी र मसिना स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।